७ माघ ०७४, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी मनोनयन अघि नै कांग्रेस, संघीय समाजवादी फोरम र राजपाबीच तालमेल हुने भएको छ ।
बुधबार उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले सोमबारसम्म उम्मेदवारी टुंगो लगाउने गरी तीन दलका नेताहरू शनिबारबाटै गृहकार्यमा जुटेका हुन् ।
बालुवाटारमा शनिबार बसेको तीन दल बैठकमा सहभागी नेताहरूले चुनावी रणनीतिलाई बुद्धिमत्तापूर्ण रूपमा प्रयोग गरिए सिट बढी आउने तथ्यांक देखाएका थिए ।
फोरम-राजपाका नेताहरूले प्रदेश २ मा आफूहरूले स्वतः जित्ने चार सिटका लागि तालमेल आवश्यक नभएकाले पाँच सिटमा मात्र तालमेल गर्न सक्ने अडान राखेकाे बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
मिलेर चुनाव लड्दा प्रदेश २ मा धेरै सिट हासिल गर्न सकिने निष्कर्षसहित आइतबार निर्णायक वार्ता गर्न लागिएको फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
उनले आ-आफ्नो दलमा छलफल गरी आइतबार पुनः बैठक बस्ने निर्णय भएको बताए ।













