कांग्रेस सभापतिलाई संसदीय बोर्ड खारेज गर्न पौडेलको दबाब

२ पुस ०७४, काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न दबाब दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार कांग्रेस शीर्ष नेताबीच आसन्न राष्ट्रियसभा चुनावको रणनीति, प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारे भएको छलफलमा पौडेलले सो दवाव दिएका हुन् ।

वरिष्ठ नेता पौडेलले बैठकमा आफूले कांग्रेस विधानविपरीत गठन भएको संसदीय समिति र कार्यसम्पादन समिति खोरजीको माग गरेको जानकारी दिए ।

‘मलाई विश्वास छ, सभापतिजीले यो कार्य चाँडोभन्दा चाँडो गर्नुहुनेछ’, पौडेलले भने, ‘मेरो माग केन्द्रीय समिति बैठक तत्काल बोलाएर कांग्रेसलाई एकढिक्कामा राख्नुपर्ने पनि छ ।’

गाउँ इकाइदेखि केन्द्रसम्म पार्टीलाई करेक्सन गर्नुको विकल्प नभएको पौडेलले बताए ।

पार्टीका ४२ विभाग र चार वटा समितिलाई पूर्णता दिनुपर्नेमा पनि आफूले जोड दिएको जानकारी पौडेलले दिए । देउवाका मनोनयनप्रति पनि पौडेलले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

कांग्रेसका शीर्ष नेताबीच यही माघ २४ गते हुने राष्ट्रियसभा चुनावमा पार्टीको तयारी, उम्मेदवार चयन, अन्य दलसँगको सहकार्यलगायत विषयमा प्रारम्भिक छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा कांग्रेसका १० जिल्लाका नेताहरूले स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा पार्टीले व्यहोर्नुपरेको हारको समीक्षा र कांग्रेसलाई बलियो र सशक्त बनाउन वैचारिक जागरण अभियान प्रारम्भ गर्न नेतृत्वसमक्ष माग गरेका छन् ।

तपाइको मत