कांग्रेस सभापति देउवा निवासमा तीन दलको बैठक बस्दै

२७ चैत्र ०७७, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा तीन दलको बैठक बस्दैछ ।

शुक्रबार अपरान्ह नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक शुरु भएको हो ।

नेपाली कांग्रेस केन्द्रीय समितिको गतहप्ता बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

कांग्रेस सभापति देउवाले नयाँ सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न तीन दलको बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्रीहरु डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् भने जनता समाजवादी पार्टीबाट संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी रहेका छन् ।