काठमाडौँ म्याराथनको १७औँ संस्करण तयारी पूरा

८ कार्तिक ०८२, काठमाडौं । यही कार्तिक १५ गते आयोजना हुने काठमाडौँ म्याराथनको १७औँ संस्करण सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक एनआरएस स्पोर्टस फाउन्डेसनले शुक्रबार विज्ञप्ती जारी गर्दै तयारी पूरा भएको जानकारी दिएको हो ।

नेपालकै सबैभन्दा पुरानो र ठूलो अन्तराष्ट्रिय स्तरको म्याराथनको रुपमा रहेको काठमाडौं म्याराथनमा यस पटक १३ विधाहरु समावेश गरिएको छ ।

जसमा म्याराथनमा (४२.१९५ कि.मी) खुल्ला, ४० वर्ष माथि, ५० वर्ष माथि र ६० वर्ष माथि विधा छन् ।

यस्तै हाफ म्याराथनमा खुल्ला, ४० वर्षमाथि र ५० वर्षमाथि विधा समावेश गरिएको छ । १० किमी खुला र मास्टर्स, ५ किमी खुला तथा ३ किमी खुल्ला, ३ किमी स्कुल रन र ३ किकी फेमिली रन पनि समावेश गरिएको छ ।

‘२६ राष्ट्रका १०६ जना अन्तर्राष्ट्रिय खेलाडीहरुले आफ्नो नाम दर्ता गरिसकेका छन् र उनीहरु काठमाडौं म्याराथनमा सहभागि हुन नेपाल आउँदैछन्,’ विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँ म्याराथनको रुट दशरथ रंगशाला त्रिपुरेश्वरदेखि सुरु भएर थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोवाटो, ग्वार्को, कोटेश्वर जडीबुटी, कौशलटार चोक, सूर्यविनायक, भक्तपुर दरवार स्क्वायर, बोडे, सानो ठिमी, तिनकुने, पशुपतिनाथ, गौशाला, चावहिल, महाराजगंज, पानीपोखरी, केशरमहल, भद्रकाली, सुन्धारा हुँदै दशरथ रंगशालामै पुगेर समाप्त हुनेछ ।

म्याराथन ४२.१९५ रेस बिहान ठीक साढे ५ बजे सुरु हुने र त्यसपछि प्रत्येक ५ मिनेटको अन्तरालमा अन्य रेसहरू सुरु हुने आयोजकले जनाएको छ ।

काठमाडौं म्याराथनलाई नेपाल एथलेटिक्स संघको मान्यता रहेको र राष्ट्रिय खेलकुद परिषदले पनि स्वीकृति दिएको छ ।