२ साउन, काठमाडौं । काठमाडौंका स्थानीयले तिर्ने घर जग्गा कर रकममा काठमाडौं महानगरपालिकाले घरजग्गाको मूल्यांकन रकममा वृद्धि गरेसँगै वद्धि भएको छ ।
महानगरपालिको आर्थिक ऐन-२०७४ मार्फत जग्गाको मूल्याकंन ४ गुणासम्म बढाइएको छ । योसँगै धेरै जमिन भएका काठमाडौंका स्थानीयले तिर्ने कर पनि चार गुणासम्म बढ्ने देखिएको छ ।
जस्तै काठमाडौंको अथकमार्गमा अहिलेसम्म प्रतिरोपनी ४० लाख रहेको सरकारी मूल्यांकन अब १ करोड ६० लाख पुर्याइएको छ । यस्ता धेरै क्षेत्रमा जग्गाको मूल्याकंन बढाएर घर जग्गा कर बढी अशुल्ने नीति महानगरपालिकाले लिएको छ ।
महानगरपालिको प्रतिरोपनी ३० लाखसम्मको मूल्यांकन भएका जग्गाको वाषिर्क ५ सयसहित विपद ब्यवस्थापनबापत ६ सय रुपैयाँ तय गरिएको छ । त्यसबाट मूल्याकंन बढ्दै जाँदा करको भार पनि थपिँदै जाने गरी तय गरिएको छ ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र एक व्यक्तिका नाममा दर्ता कायम रहेका घर तथा जग्गाहरुलाई एक युुनिट मानि कर निर्धारण गरिने ऐनमा उल्लेख छ ।
घर जग्गा मुल्यांकनको लागि जग्गाको क्षेत्रफल आठ आनासम्म भएमा सम्पुर्ण जग्गा घरजग्गा कर निर्धारणमा समाबेश गर्ने सो भन्दा बढी क्षेत्रफल भएकाको हकमा भवन वा घरले चर्चेको क्षेत्रफल एफएआर को दुई गुणा सम्मको जग्गा मात्र मूल्यांकनमा समाबेश गरी कर निर्धारण गरिने भएको छ ।
जुनसुकै प्रकारले हक हस्तान्तरण हुँदा महानगरपालिकाले गरेको मूल्यांकन भन्दा लिखतको मूल्य घटी वा बढी भए पनि नगर सभाबाट स्वीकृति भएको दरको आधारमा मात्र घरजग्गाको मूल्यांकन गरी कर निर्धारण गरिने ऐनमा जनाइएको छ ।
सडकले नछोएका, एक दशमलव पाँच मिटरसम्म चौंडा बाटोले छोएका भवन, घर, टहरा वा जुनसुकैै भौतिक संरचना रहेको जग्गाको मुल्यमा बीस प्रतिशत छुट गरिने भएको छ ।
एक दशमलव पाँच मिटरदेखि चार मीटरसम्म चौंडा बाटोले छोएका भवन, घर, टहरा वा जुनसुकै भौतिक संरचना रहेको जग्गाको मूल्यमा १५ प्रतिशत छुट हुनेछ ।
चार मिटरदेखि आठ मीटरसम्म चौडा बाटोले छोएका भवन, घर, टहरा वा जुनसुकै भौतिक संरचना रहेको जग्गाको मुल्यमा दश प्रतिशत छुट हुनेछ ।
आठ मिटर भन्दा माथि जतिसुकै चौडा बाटोले छोएका भवन, घर, टहरा वा जुनसुकै भौतिक संरचना रहेको जग्गाको मूल्यमा छुट हुने छैन । भवन निर्माणको स्थलगत अवस्थालाई आधार मानि घरजग्गा कर निर्धारण गरिने ऐनमा जनाइएको छ ।