८ फागुन, काठमाडौं । दोस्रो पूर्वाधार शिखर सम्मेलनमा सहभागी हुन भारतका रेलमन्त्री सुरेश प्रभाकर प्रभु शनिबार काठमाडौं आएका छन् ।
आजदेखि काठमाडौंमा सुरु हुने दुई दिने पूर्वाधार शिखर सम्मेलनमा नेपालको पूर्वाधार विकासमा नयाँ सोच र प्रविधिको पहिचान साथै पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता र भूमिकाबारे छलफल हुने बताइएको छ ।
भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय, नेपाल उद्योग परिसंघ र युवा निर्माण व्यवसायी संघले आयोजना गरेको सम्मेलनमा विभिन्न सरकारी तथा गैरसरकारी निकाय, द्विपक्षीय एवं बहुपक्षीय विकास साझेदारहरूको सहभागिता रहनेछ ।
सम्मेलनमा नेपाल लगानी बोर्डले सुरु गरेका करिब ५० वटा सम्भाव्य पूर्वाधार परियोजनाको प्रदर्शनीसमेत हुने बताइएको छ ।













