काठमाडौं उपत्यकामा ३२ सहित थप २४६ जनामा संक्रमण पुष्टि, कूल संक्रमित संख्या २० हजार ३३२

१८ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको बताएको छ ।

मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोनाको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा ३२ सहित थप २४६ जनामा संक्रमण पुष्टि भएको र योसँगै कूल संक्रमित संख्या २० हजार ३३२ पुगेको बताएका हुन् ।

उनले देशभर ५ हजार ६७२ जना सक्रिय संक्रमित रहेको जानकारी दिए । जसमध्ये प्रदेश १ मा दुई सय ५१ जना, प्रदेश २ मा दुई हजार १७५ जना, बागमती प्रदेशमा ६०६ जना, गण्डकी प्रदेशमा २८७ जना, प्रदेश ५ मा ३९६ जना, कर्णाली प्रदेशमा २९३ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ६६४ रहेको बताए ।

यस्तै संक्रमित शुन्य रहेका जिल्लाहरु भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेको उनले बताएका छन् ।

यसैगरी पर्सा जिल्ला वीरगंज महानगरपालिका १६ बस्ने बर्ष ६८ की कोरोना संक्रमित महिलाको साउन १७ गते निधन भएको समेत उनले बताए ।

सम्पूर्ण प्रदेश, स्थानीय तह र अस्पतालहरुलाई आकस्मिक लगायत अन्य सेवा समेत प्रभावित भएको भन्दै प्रवक्ता गौतमले साउन १४ गतेको निर्णयअनुसार आरडिटी परीक्षण नगर्न जानकारी समेत गराएका छन् ।