काठमाडौं महानगरका मेयरको गाडी मोह, आफ्नै प्रतिबद्धता विपरीत कार्य सुरु

२४ साउन ०७४, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जनप्रतिनिधिको चाहना र आफ्नै प्रतिबद्धता विपरीत कार्य सुरु गरेका छन् ।

पदभार ग्रहण गर्नासाथ जनप्रतिनिधिका लागि महंगो मोबाइल किन्ने निर्णय गरेर विवादमा आएका मेयर शाक्यले आफ्ना लागि बिलासी गाडी किनेका छन् ।

मेयर शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको भन्सार छुटाएर ल्याइएको टोयोटाको ‘फर्च्यूनर’ गाडी राष्ट्रिय सभागृह परिसर, काठमाडौंमा आइपुगेको छ । यद्यपि उनले अहिले चढ्ने गाडी झण्डै १ करोड बराबरकै छ ।

चुनाव जित्नु अघिसम्म जनपक्षीय नाराहरु अघि सारेका मेयर शाक्यलगायत जनप्रतिनिधिलाई जनताले जिताएर पठाए तर उनीहरुले एकपछि अर्को अलोकप्रिय निर्णय गर्न थालेपछि जनताको तहमा आलोचित हुन थालिसकेका छन् ।

जनप्रतिनिधिको सेवा सुविधाका लागि ३५ लाख छुटयाइयो, मोबाइल किन्न मात्र १२ लाख खर्च

केही समयअघि नगर कार्यपालिकाको  बैठकले जनप्रतिनिधिको सेवा सुविधाका लागि भन्दै ३५ लाख रुपैयाँ छुट्याउने निर्णय गरेको थियो तर त्यो रकममा जनप्रतिनिधिलाई मोबाइल फोन, सिमकार्ड र रिचार्ज खरिद समेत उल्लेख गरिएको रहेछ ।

नगर कार्यपालिका सदस्यका लागि मोबाइल खरिदका लागि ३० हजार रुपैयाँ दिइने भएको छ । नगरकार्यपालिका सदस्यमा ३२ वडाका वडाध्यक्ष र ८ सदस्य छन् । यसरी हेर्दा नगरकार्यपालिका सदस्यका लागि मोबाइल किन्न मात्र १२ लाख खर्च हुन्छ । मेयर र उपमेयरले किन्ने मोबाइलको खर्च छुट्टै हुनेछ ।

मेयर र उपमेयरलाई आफूले रोजेको मोबाइल किन्ने छुट दिइएको छ । उनीहरुले मोबाइल किनेर बिल पेश गरेपछि रकम पाउने छन् ।

नगर कार्यपालिकाको बैठक बस्दा भत्ता

यसैगरी काठमाडौं महानगरपालिकाले नगर कार्यपालिकाको बैठक बस्दा मेयर र उपमेयरका लागि १५ सय, नगर कार्यपालिकाका सदस्य र आमन्त्रित सदस्यहरुलाई १ हजार बैठक भत्ता दिने निर्णय पनि गरेको छ ।

 वर्षायाममा काठमाडौंका सडकको खाल्डा पुर्नु भनेको पैसाको नाश मात्र हुने र खाल्डा-खुल्डी पुर्दा जनताको करबाट तिरेको रकम खेर जान्छ भनेका तिनै मेयरले आफ्ना लागि १ करोड २० लाख पर्ने गाडी मगाएका छन् ।

ढलमा परेर बालिकाको मृत्यु हुँदा प्रधानमन्त्रीले सडकको खाल्डाखुल्डी पुर्न भन्ने आदेश दिइसकेपछि ट्राफिक प्रहरीसँग भएको एक छलफल कार्यक्रममा मेयर शाक्यले भनेका थिए, ‘खाल्डा पुर्ने काममा महानगरपालिका अघि सरेको छैन । सर्दा पनि सर्दैन ।’ उनले अघि भने,’ अहिले खाल्डा पुर्दा रकम दुरुपयोग मात्रै हुन्छ । जति आलोचना भएपनि महानगरले खाल्डा पुर्दैन । जनताको करबाट उठेको रकम यसरी खेर फाल्नु हुँदैन ।’

 

सोही कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले भने स्रोतको समस्या देखाएर खाल्डा पुर्दिन नभन्न मेयर शाक्यलाई आग्रह गरेका थिए ।

सशुल्क पार्किङ

काठमाडौंका सडक आसपास निःशुल्क पार्किङ गर्ने दिन अब सकिएको छ । काठमाडौं महानगरपालिकाले पारित गरेको आर्थिक ऐन- ०७४ ले काठमाडौं महानगरभित्र सशुल्क पार्किङ गर्ने ब्यवस्था गरेको छ ।

एेनअनुसार महानगरले सशुल्क पार्किङ थालेपछि एउटा सवारीले एक घण्टासम्म पार्किङ गर्दा घण्टाको १५ देखि २ सय रुपैयाँसम्म तिर्नुपर्ने भएको छ ।

मेयर निर्वाचित हुनु अघि यस्तो पो थियो शाक्यको प्रतिबद्धता 

नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेद्वारी दिएका विद्यासुन्दर शाक्यले मेयरमा निर्वाचित भएमा काठमाडौँको मुहार फेर्न विभिन्न शीर्षकमा तीन दर्जनभन्दा बढी योजना ल्याएका थिए ।

१. ‘मोनो रेल’ र मेट्रो ट्रेन बनाइने

काठमाडौँलाई स्मार्ट सिटी बनाउने शाक्यको योजनमा मोनो तथा मेट्रोरेल कुदाउनेदेखि प्रत्येक वडाका टोलटोलमा फ्री वाईफाई सुविधा दिनेसम्मका रहेका थिए ।

‘काठमाडौँको पूर्वाधार निर्माण तथा विकासका लागि म प्रतिवद्ध भएर लाग्नेछु’, उनले भनेका थिए, ‘तीन वर्ष भित्र काठमाडौँ महानगरको रिंगरोड क्षेत्रमा ‘मोनो रेल’ सञ्चालनमा ल्याउँछु ।’

मेयर बन्नका लागि ल्याएको प्रतिवद्धता पत्रमा शाक्यले काठमाडौँमा स्मार्ट सिटी ट्रान्स्पोर्ट कार्ड सुरु गर्ने, यो कार्ड मोनो रेल,  मेट्रो ट्रेन, सिटी बस र केवलकार सबैका लागि प्रयोग गर्न सकिने बताएका थिए ।

२. भर्टिकल र अण्डर ग्राउण्ड पार्किङ

महानगरमा बढिरहेको ट्राफिक जाम र सवारी पार्किङको निकै समस्या हल गर्न उनले भनेका थिए, ‘काठमाडौँ महानगरभित्र स्मार्ट पार्किङको व्यवस्थापन गरिनेछ, विभिन्न ठाउँमा स्वचालित भर्टिकल कार पार्किङ्ग र अण्डर ग्राउण्ड पार्किङको व्यवस्था गर्नेछु । यसले गर्दा बढ्दो सवारी जाम न्यून हुनेछ ।’

आमसर्वसाधारणलाई सवारी आवगमनमा सहज हुने भन्दै शाक्यले साइकल लेनको निर्माण गरिने पनि प्रतिबद्धता गरेका छन् । ‘साइकल चढ्नेलाई विशेष सुविधा उपलब्ध गराइनेछ’, उनले भनेका छन्, ‘ठाउँ ठाउँमा साइकल पार्किङ स्टेसन निर्माण गरिने छ ।’

३. मेलम्चीसँगै अर्को मुहान खोजिने

शाक्यले मेलम्ची खानेपानी आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न लगाई घरघरमा खानेपानी पुर्याआउने प्रतिबद्धता पनि जनाएका छन् । ‘उपत्यकामा मेलम्चीको पानीले मात्र नपुगेको खण्डमा सिस्नेरी खानेपानी आयोजना पनि अघि बढाउँछु’,  उनले भनेका थिए, ‘अन्य आयोजना पनि एक वर्ष भित्र प्रारम्भ गरी काठमाडौँमा खानेपानीका थप स्रोतहरू परिचालन गरिनेछ ।’

४. महानगर सिटी ‘प्लानिङ कमिशन’

एमालेबाट उम्मेदवार बनेका शाक्यले शहरी भौतिक पूर्वाधार निर्माण, विकास र सुधारमा प्रभावकारिताका लागि ‘महानगर सिटी प्लानिङ्ग कमिशन’ को व्यवस्था गर्ने जनाएका छन् । २०७२ वैशाख १२ गतेको भूकम्पका कारण ढलेको धरहरालाई उच्च प्रविधियूक्त ‘भ्यू टावरको’ रूपमा विकसित गर्ने योजना पनि उनले ल्याएका छन् ।

‘धरहरालाई काठमाडौँ हेर्ने भ्यू टावरकारुपमा निर्माण गर्छौँ’, शाक्यले भनेका छन्, ‘पर्यटकीय दृष्टिले पनि काठमाडौँ निकै सम्भावना भएको सहर भएले चौबीसै घण्टा खुल्ला राखेर जीवन्त सहरको रूपमा विकसित गर्न अघि बढ्छौँ ।’

उपत्यकालाई पर्यटकीय सहरका रूपमा विकसित गर्ने योजनासँगै उनले तीनकुनेमा रहेको सार्वजनिक जग्गामा पर्यटकीय आकर्षणका लागि पूर्वाधार तयार गरिने योजना बनाएका छन् ।

५. महानगर टेलिभिजन ल्याउने

अहिलेको सञ्चार र प्रविधिको युगमा महानगरपालिकाले आफैँ महानगर टेलिभिजन सञ्चालन गर्ने उनले उल्लेख गरेका छन् । शाक्यले हाल सञ्चालन भइरहेको मेट्रो एफएमलाई व्यवस्थित गरी अझ प्रभावकारी बनाउने योजना ल्याएका छन् ।

शाक्यले काठमाडौँका प्रत्येक वडाका टोलहरुमा निशुल्क वाईफाईको व्यवस्था गर्ने बाचा गरेका छन् । इन्टरनेट सहज बनाउनका लागि प्रत्येक वडामा निःशुल्क वाईफाई जोनहरु बनाउने योजना रहेको उनले बताए ।

६. जनतासँग मिलेर सडक बढारिने 

काठमाडौँमा बढ्दै गएको वायु प्रदूषणलाई न्यूनीकरण गर्नका लागि शाक्यले ‘आफ्नो सहर आफैँ सफा गरौँ’ योजना ल्याउने भएका छन् । उनले ‘क्लिन द सिटी‘ अभियानको थालनी गर्ने बताए । त्यसैगरी प्रविधिको प्रयोग गर्दै काठमाडौँलाई पहिलो पटक ई-गर्भनेन्स प्रणालीमा लगेर पारदर्शी प्रशासन प्रणाली लागू गरिने उनको योजना छ ।

७. खोलालाई ढलमुक्त गरी हरियाली बढाइने

शाक्यले सुन्दर, सफा र हरियाली सहर बनाउन बागमती, विष्णुमती लगायत सबै खोलानालालाई ढलमुक्त गराउने बताएका छन् । ‘उपत्यकाका सबै खोला सफा गरेर ढलमुक्त बनाई सफा पानी बग्ने नदीमा रूपान्तरण गरिनेछ’, उनले भनेका छन्, ‘नदीकिनारामा वृक्षरोपण गरी पार्क तथा बगैँचा नाई हरियालीयुक्त सफा र सुन्दर पार्नेछौँ ।’

महानगरमा निस्कने फोहरबाट बायोग्यास उत्पादन गरी महानगरको ब्राण्डमा सहुलियत दरमा बेच्ने योजना पनि शाक्यसँग रहेको छ । भूकम्प गएको दुई वर्ष बितिसकेपनि संरचना पुनर्निर्माण हुन सकेका छैनन् । मेयरमा विजयी भएमा भत्किएका भवन तथा सम्पदा पुनर्निर्माण तत्काल अघि बढाई दुई वर्ष भित्र सबै संरचना पुनर्निर्माण गर्ने योजना शाक्यले बुनेका छन् ।

८. वृद्धवृद्धा र अपाङ्गलाई महानगर भत्ता

शाक्यले तत्कालीन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सुरु गरिएको सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई महानगरमा फरक ढंगले लागू गर्ने बताएका छन् ।

उनले गत वर्ष एमाले तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकको भत्ता दोब्बर बनाएर दुई हजार रुपैयाँ पुर्यातएको बताउँदै काठमाडौँ महानगरले यहाँका ८० वर्षमाथिका जेष्ठ नागरिकलाई मासिक १ हजार भत्ता दिने पनि घोषणा गरे ।

शाक्यले जेष्ठ नागरिक अपाङ्ग, बालबालिकाहरु (पाँच वर्षमुनिका), पिछडिएका तथा निम्न आय भएका व्यक्तिलाई महानगरबाट सञ्चालित यातायातमा निःशुल्क आवतजावत गर्न योजना ल्याएका छन् । समाजमा पिछडिएका तथा निम्न आय भएका व्यक्तिहरुका लागि सामुदायिक आवास कार्यक्रम पनि उनको योजनामा छ ।

९. एक परिवार एक रोजगार

बढ्दो बेरोजगारीको समस्या समाधान गर्नका लागि शाक्यले काठमाडौँ महानगरमा एक परिवार एक रोजगारको नारालाई कार्यान्वयन गर्ने योजना ल्याएका छन् ।

१०. तारलाई जमिनमुनि गाडिने

काठमाडौँ सहर कुरुप देखिने गरी सडकमा जथाभावी राखिएका तारलाई जमिनमुनि विछ्याउने व्यवस्था पनि उनको योजनामा छ । शाक्यले महानगरको विभिन्न ठाउँहरूमा विद्युतीय बस, मोटरसाइकल र मोबाइल लगायत विद्युतीय सवारीहरुका लागि रिचार्ज सेन्टरको व्यवस्था गर्ने पनि उल्लेख गरेका छन् ।

तपाइको मत