२३ भदौ ०७९, काठमाडौं । नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ ।
काठमाडौं महानगरपालिका शहरी व्यवस्थापन विभागले एक सूचना जारी गरी महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समय दिएको हो ।
महानगरपालिकाको नगरसभाको ११औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रममा प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुरुप निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई एक वर्षभित्र नक्सा पास गरी नियमित गर्न आह्वान गर्दै जारी गरिएको उक्त सूचनामा भनिएको छ, ‘नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरुको यो सूचना जारी भएको मितिले ९० दिनभित्र नक्सा पेश गरी नक्सा स्वीकृत/नियमित गर्न सम्बद्ध सबै व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुलाई समेत अनुरोध गरिन्छ ।’
महानगरले समयसीमाभित्र नक्सा पेश नगरेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयबमोजिम कारवाही गरिने हुने समेत जनाएको छ ।














