२१ फागुन ०७४, काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमण गरिएको सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान थालेको छ ।
सोमबार वडा नं. ३ को वडा भवनसँगै जोडिएको साढे ६ आना जग्गा फिर्ता लिएर अभियानको थालनी गरिएको हो । सो जग्गामा होटलले बनाएको एकतले भवनलाई सार्वजनिक सम्पत्तिका रुपमा घोषणा गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले आफैले गल र ३ नम्बर वडाध्यक्ष दिपक केसीले हथौंडाले भवनको पर्खालमा हानेर भत्काउने अधियान सुरु गरेका थिए ।
मेयर शाक्यले ०७२ सालको भूकम्पले हामीलाई ठूलो पाठ पढाएकाले सहरी सुन्दरता कायम गर्न, हरियाली बचाउन र आपत् विपतमा आश्रय लिन पनि खुल्ला स्थानको संरक्षण गर्न जरुरी रहेकोले अतिक्रमण गरिएको सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियानमा लागेको बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले सहरी जीवन व्यवस्थापन सहजताका लागि थालिएको अभियानलाई सकारात्मक लिन र अभियानमा सहभागी हुन सहरबासीलाई आग्रह गरे । उनले अहिले कति सार्वजनिक जग्गा अतिक्रमणमा परेका छन् भन्ने एकीन तथ्यांक महानगरसाग नभएको बताए ।
तर, विभिन्न वडा कार्यालयले आफ्नो कार्यक्षेत्रभित्रका अतिक्रमित सार्वजनिक जग्गाको खोजी सुरु गरेका छन् । अहिले काठमाडौंमा अर्बौं मूल्य बाराबरको सार्वजनिक जग्गा विभिन्न व्यक्ति, समूह र संघसंस्थाले अतिक्रमण गरेको अनुमान छ ।
वडा नं. ३ मा मात्र पनि २०० रोपनीभन्दा बढी सार्वजनिक जग्गा छ । वडा नं. ३ का वडाध्यक्ष दीपक केसीले आज फिर्ता भएको जग्गा करीव ७ करोड मूल्य बराबरको भएको बताए । वडाध्यक्ष केसीले विश्वहिन्दू महासंघले प्रयोग गरेको २२ रोपनी र गायत्री समाजले प्रयोग गरिरहेको ४२ आना जग्गा पनि तत्कालै सार्वजनिक प्रयोजनामा फिर्ता ल्याउन लागेको बताए ।
वडा नं. ३ मा १३६ रोपनी सार्वजनिक जग्गा रानीबारी पार्कले ओगटेको छ । यसबाहेक चालु आर्थिक वर्षमा यो वडाले १ अर्व मूल्य बराबरको यस्ता जग्गा सार्वजनिक उपयोगमा फिर्ता गराउने लक्ष्य राखेको केसीले बताए ।