२७ बैशाख ०७७, काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघ, काठमाडौ जिल्ला समितिले यातायात मजदुरलाई राहत वितरण गरेको छ ।
बन्दाबन्दीले समस्यामा परेका ८५ परिवार यातायात मजदुरलाई जिल्ला समितिले राहत वितरण गरेको हो ।
कोरोना भाइरसको संक्रमणको कारण देश लकडाउनमा गएपछि मजदुरको दैनिकीमा समस्या बढ्दै गएसँगै बन्दाबन्दीको ४५औँ दिन अखिल नेपाल यातायात मजदुर संघ, केन्द्रीय समितिको संयोजन र यातायात व्यवसायीको सहयोगमा जिल्ला समिति काठमाडौले मजदुरहरुलाई राहत वितरण गरेको हो ।
दिगो सार्वजनिक यातायात प्रा. लि. तथा सामाकोसी यातायातका अध्यक्ष नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ उपाध्यक्ष सानुकाजी प्रजापतीले चामल ५४० केजी, दाल ३० केजी, तेल १८ लिटर, १८ प्याकेट नुन मजदुरहरुलाई रहातस्वरुप उपलब्ध गराएका थिए । यस्तै कान्तिपुर यातायात प्रा.लि.का अध्यक्ष तथा व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण के.सी.ले १८० के.जी. चामल र बाग्मती प्रदेश संयोजक धर्म रिमालले १०० के जी चामल सहयोग गरेका थिए ।
उक्त राहत सुन्दरीमाई सिटी रूट, बाबा गोकर्णेश्वर, मेडिकल कलेज, जोरपाटी माइक्रो बस, सफा टेम्पो, अतरखेल रुट लगायत चाबहिल बौद्ध क्षेत्रमा काम गर्ने यातायात मजदुर चालक तथा सहचालकहरूलाई वितरण गरिएको थियो ।
अन्टुफ केन्द्रीय सचिव एवम् यातायात परिषद् इन्चार्ज सोम तामाङ र बागमती प्रदेश अध्यक्ष दिपक केसीले सो राहत लागि समन्वय गरेका थिए ।