
१७ असार ०७७, बाँके । सत्तारुढ दल निकट ट्रेड युनियनले नेपाल विद्युत प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयलाई सुरक्षा सेवा आपूर्तिकर्तासँग सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगरी ठेक्का सम्झौता नगर्न ध्यानाकर्षण गराएको छ ।
विद्युत प्राधिकरणले यसैहप्ता रुपन्देहीको स्वर्गद्वारी सेक्युरिटी सर्भिसलाई सुरक्षा गार्ड आपूर्तिका लागि छनौट गरेपछि अखिल नेपाल ट्रेड युनियन महासंघ ‘अन्टुफ’ बाँकेले उक्त सेक्युरिटी सर्भिससँग श्रम ऐन र सामाजिक सुरक्षा ऐन पूर्ण कार्यान्वयन गर्ने गरी ठेक्का सम्झौता गर्न भनेको हो ।

महासंघ बाँकेका अध्यक्ष बसन्त मल्लले सोमबार मात्रै नेपाल विद्युत प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय प्रबन्धकलाई ध्यानाकर्षण पत्र बुझाई सेक्युरिटी सर्भिसलाई श्रम ऐन र सामाजिक सुरक्षा ऐन पूर्ण कार्यान्वयन गर्न सुझाइएको बताए ।
अध्यक्ष मल्लले भने, “श्रम ऐन २०७४, श्रम ऐन नियमावली २०७५, सामाजिक सुरक्षा ऐन २०७५ र नियमावली कार्यान्वयनका लागि सुरक्षा गार्डहरुसँग श्रम सम्झौता नगराई ठेक्का सम्झौता नगर्न आग्रह गरेका छौं ।”
कानूनको उपहास हुने गरी कार्यालयले ठेक्का सम्झौता गरेको अवस्थामा मजदुरहरु चुप लागेर नबस्ने भन्दै उनले प्राधिकरणलाई कानूनको पालना गर्न र गराउन आग्रह समेत गरेको बताए ।














