किष्ट मेडिकल कलेज सञ्चालनमा आउन सकेन, बिरामी र विद्यार्थी मर्कामा

२० पुस ०७४, काठमाडौँ । कर्मचारी आन्दोलनका कारण विगत २१ दिनबाट बन्द रहेको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज अझै सञ्चालनमा आउन सकेको छैन ।

अस्पताल प्रशासन र आन्दोलनरत पक्षबीच सेवासुविधा तथा तलब भत्ता बढाउनु पर्ने लगायतका १५ बुँदे मागलाई लिएर वार्ता बस्न नसक्दा विगत २१ दिनदेखि मेडिकल कलेज सञ्चालनमा आउन  नसकेको हो ।

आन्दोलनका कारण चिकित्सा शिक्षा संस्थान (आइओएम)ले एमबीबीएस् अन्तिम वर्ष तथा बीडीएस चौथो वर्षको प्रयोगात्मक परीक्षा अनिश्चितकालका लागि रद्द गरेको छ ।

किष्ट मेडिकल कलेज विद्यार्थी समाजका अध्यक्ष विभेद न्यौपानेले किष्ट कलेजमा चलेको आन्दोलनका कारण विद्यार्थीहरुको पढाई प्रभावित हुँदै गएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

न्यौपानेले अस्पतालले पठनपाठन हुने नहुने सम्बन्धमा हालसम्म कुनै सूचना नदिएको बताउदै अस्पताल प्रशासन र आन्दोलनरत पक्षबीच यथासिघ्र वार्ता गरी समस्याको समाधान गर्न आग्रह गरेका छन् । साथै, आईओएम तथा नेपाल मेडिकल काउन्सिललाई यसमा समन्वयकारी भूमिका खेलेर समस्याको समाधान गर्न समेत आग्रह गरेका छन् ।

अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवा बन्द हुदाँ किष्ट कलेजमा आउने हजारौ विरामीहरु प्रभावित बनेका छन् ।

तपाइको मत