कुटनीतिकरुपमा जमिन फिर्ता ल्याउने कुरामा पनि हाम्रो पार्टीको समर्थन रहनेछ – काँग्रेस सभापति देउवा

३१ जेठ ०७७, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावमा पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् ।

शनिबार संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै सभापति देउवाले काँग्रेस पार्टी, संसदीय दलले निर्णय नै गरेर विधेयकलाई समर्थन गर्ने निर्णय गरिएको बताएका हुन् ।

उनले संविधान संशोधनसँगै भोलिका दिनमा गुमेको भूमि फिर्ता ल्याउन कुटनीतिक रुपमा गरिने पहलहरुमा समेत काँग्रेसको समर्थन रहने बताए ।

शनिबार प्रतिनिधि सभा बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले भने,  

सम्माननीय सभामुख महोदय
आज म संविधान संशोधन विधेयक माथि नै केन्द्रीत रहेर केही कुरा भन्न चाहन्छु ।

सुगौलीको सन्धि १८१६ का अनुसार काली नदी पूर्वको जमिन नेपालको हो भन्ने कुरा स्पष्ट छ । अंग्रेजले छापेको नक्सामा पनि काली नदी भनिएको छ । जस लाई महाकाली भन्छौं, हामी । गाउँ ठाउँमा काली नै भन्ने चलन छ अहिले पनि । त्यस्तै चाइनीज नक्सामा पनि कुटी याङ्दी भन्ने शब्द छ त्यसलाई नेपालीमा अनुवाद गर्ने हो भने काली नदी नै हुने रहेछ । त्यसकारण काली नदीको पूर्वी भाग नेपालको हो भन्ने कुरा स्पष्ट छ, दुई मत नै छैन् ।

हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले संशोधन प्रस्तावमा समर्थन गर्ने निर्णय लिएको छ । संसदीय दलमा पनि पूर्णरुपमा समर्थन गर्ने भनिएको छ ।

यसमा सबै पार्टीहरुको समर्थन देखिएको छ । नेपालीहरुको राष्ट्रिय एकता देखिएको छ । नेपाली जुनसुकै ठाउँका किन नहुन् राष्ट्रिय हितका लागि राष्ट्रको अखण्डताका लागि एक छ भन्ने स्पष्ट भएको छ । म सभामुखमार्फत् सम्पूर्ण दलका साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।
धेरै कुरा भन्नु छैन्, आज जुन विषय ल्याइएको त्योभन्दा बाहिर जान चाहन्नँ । आज सम्पूर्ण नेपालीहरु एक भएको छ जुन महत्वपूर्ण कुरा हो । भोलि कुटनीतिक रुपमा जमिन फिर्ता ल्याउने कुरामा पनि हाम्रो पार्टीको समर्थन रहनेछ । धन्यवाद !