९ असोज ०७६, काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले कुनै पनि देशको आन्तरिक मामिलामा चीनले कहिल्यै हस्तक्षेप नगर्ने बताएकी छन् ।
काठमाडौंमा बिहीबार चीन अध्ययन केन्द्रले सी जिनपिङ विचारधाराबारे काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको विचारधारात्मक छलफल र सम्झौतालाई लिएर टिकाटिप्पणी भइरहेका राजदुत यान्छीले सी जिनपिङ विचारधारा धेरै अघि अन्तर्राष्ट्रियकरण भइसकेको पनि बताइन् ।
नेपालमा सी विचारधाराबारे चीनले बहस शुरु गरेर अन्तर्राष्ट्रियकरण गरेको भनी केहीले टिप्पणी गरिरहेका बेला राजदूतको यस्तो अभिव्यक्ति आएको हो ।
कार्यक्रममा चीनले कुनै देशमा विचार निर्यात नगर्ने भन्दै राजदूत यान्छीले चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको बैचारिक छलफललाई गलत अर्थ नलगाउन समेत आग्रह गरेकी छन् ।













