कुलमानको अर्को सफलता : नेपालले भारतबाट किन्ने बिजुली केही सस्तो भो !

२५ साउन ०७४, काठमाडौं । पावर एक्सचेन्ज कमिटीको दिल्लीमा बसेको बैठकले हरेक वर्ष ५.५ प्रतिशतका दरले विद्युतको मूल्य बढ्ने पूर्वसहमतिलाई खारेज गरेको छ । यो निर्णयसँगै नेपालले भारतबाट किन्ने गरेको बिजुली केही सस्तो भएको छ ।

सन् २०११ मा नेपाल-भारत पावर एक्सचेन्ज कमिटीको बैठक बसेर हरेक वर्ष बैठक बस्ने र बाषिर्क ५.५ प्रतिशतका दरले बिजुलीको मूल्य बढाउने सम्झौता भएको थियो ।

त्यसयता पटक पनि बैठक बस्न नसक्दा भारतबाट ल्याइने विद्युतको मूल्य प्रतियुनिट ११ रुपैयाँ नाघेको थियो । तर, कुलमान घिसिङ विद्युत प्राधिकरणको नेतृत्वमा आएपछि पावर एक्सचेन्ज कमिटीको बैठकले पूर्वनिर्णय खारेज गरेपछि भारतबाट किन्ने विद्युत केही सस्तो भएको हो ।

कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा आएपछि पहिलो पटक पावर एक्सचेन्ज कमिटीको बैठक बसेको छ ।

अब ५० मेगावाट वा त्यसभन्दा माथि १३२ केभी ट्रान्समिसन लाइनबाट आउने एक युनिट बिजुलीको मूल्य ५.५ भारु पर्नेछ । गत वर्ष मूल्य ५० मेगावाट भन्दा कम १३२ केभी ट्रान्समिसन लाइनबाट आउने एक युनिट विजुलीको मूल्य ५.६२ थियो ।

यस्तै ३३ केभी ट्रान्समिसन लाइनमा आउने एक युनिट विद्युतको मूल्य भारु ६ र ११ केभीको ६.४५ भारु निर्धारण भएको छ । यसअघि ३३ केभी ट्रान्समिसन लाइनमा आउने एक युनिट विद्युतको मूल्य ६.४२ र १११ केभीको ६.५४ भारु थियो ।

दिल्लीमा सन् २०१८ मार्चमा अर्को बैठक बस्ने र विद्युतको मूल्य निर्धारण गर्ने सहमति भएको छ ।

साथै लामो समयदेखि बन्द रहेको ३३ केभीको धनगढी-पालिया प्रशारण लाइन दुई महिनाभित्र सञ्चालनमा ल्याउने सहमति पनि भएको विद्युत प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

तपाइको मत