कोशराज राई, कुवेत
नेपाली राजदूतावास कुवेतले मंगलबार अत्यन्त जरुरी सूचना जारी गरी गत १२ फेब्रुवरीमा फिनटासको वैडिङ हलमा नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गरेको सोनाम लोछार कार्यक्रममा केहि उछृङखल तत्वले घरेलु हतियारसहित एकापसमा सांघातिक आक्रमण गर्नाले कार्यक्रमका प्रमुख अतिथि रहनु भएका महामहिम राजदूत लगायत अन्य सहभागीहरुमा असुरक्षा र आतंकको वातावरण सिर्जना भएकोमा दूतावासले यस घटनालाई गम्भिर रुपमा लिएको बताएको छ।
दूतावासले सूचनामा नेपाली समुदायले बिगतमा आयोजना गर्ने गरेका यस्ता कार्यक्रमहरुमा पनि यस्तो अवान्छित घटना घटाउने गरेको र यसबाट कुवेतको शान्ति सुरक्षा कायम गर्न प्रतिकुल प्रभाव परेकाले यसलाई नियन्त्रण गर्ने बारेमा कुवेत सरकारले यस्ता कार्यक्रम गर्नलाई अबिलम्ब रोक्नलाई नेपाली समुदायलाई अनुरोध गरेको हुँदा कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली समुदायका दाजुभाई तथा दिदीबहिनीहरुमा सोही बमोजिम गर्नु हुन दूतावासले हार्दिक अनुरोध गरेको छ। दूतावासले अगाडी चेतावनीसहित यस अनुरोधलाई अटेर वा बेवास्ता गरी कुनै कार्यक्रम आयोजना गरेमा वा कुनै अवान्छित घटना घटेमा आयोजक नै कुवेतको कानुन अनुसार जिम्मेवार हुनु पर्ने र यस बिषयमा राजूतावासले सम्बद्द अन्तराष्ट्रिय सन्धि बमोजिमका कन्सुलर कार्य बाहेक अन्य केहि गर्न नमिल्ने कुरा पनि सम्बन्धित सबैमा जानकारी गराएको छ।
राजदूतावासको यस सूचना पछि कुवेतका बिभिन्न संघ संस्थाले आयोजना गर्न लागेको पूर्वनिर्धारित कार्यक्रमहरु भने अन्योलमा परेको छ।