९ जेठ ०७७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कूटनीतिक वार्तामार्फत भारतद्वारा अतिक्रमित भूमि फिर्ता लिइने बताएका छन् ।
बिहीबार अमेरिकास्थित सञ्चारकर्मीसँग भर्चुअल कुराकानी गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले स्थापित तथ्य, प्रमाण, दस्तावेजका आधारमा नेपालले अद्यावधिक नक्सा सार्वजनिक गरेको बताउँदै यस्तो बताएका हुन् ।
उनले सुगौली सन्धिले स्थापित गरेका प्रमाण लगायतका आधारमा नेपालको नक्सा सार्वजनिक गरिएको भन्दै वार्ताको टेबलबाट अतिक्रमित भूभाग प्राप्त गर्न ठोस कदम अगाडि बढाउइने बताए ।
नेपाल भारतको वर्तमान सीमा सन् १८१६ को मार्चमा सुगौली सन्धिले निर्धारण गरेको स्पष्ट पार्दै सोही वर्ष डिसेम्बरमा भएको पूरक सन्धि साथै सन् १८६० मा नयाँ मुलुक फिर्ता गर्न भएको पूरक सन्धि र १८७५ मा भएको सन्धिका आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालको रहेको पनि स्पष्ट पारेका थिए ।
सुगौली सन्धिको कुनै धारा परिवर्तन गर्नेगरी अर्को कुनै पनि सन्धि नभएको र त्यो संशोधन पनि नभएकाले त्यो नै बलियो आधार प्रमाण रहेको मन्त्री ज्ञवालीले बताएका थिए ।
यस्तै परराष्ट्र मन्त्री ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई छिट्टै फिर्ता ल्याइने तयारी सरकारले गरिरहेको पनि जानकारी दिए ।
उनले विश्वका १०९ देशमा करिब ३४ लाख ५९ हजार नेपाली रहेको आधारिकारिक डाटा सरकारसँग रहेकाले अन्तर्राष्ट्रिय उडान खुलेपछि उनीहरुलाई नेपाल ल्याउन पहल गरिने बताए ।