३० असार ०७४, काठमाडौं । केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर राप्रपामा विवाद चर्किएको छ ।
अध्यक्ष कमल थापाले एकलौटी रुपमा केन्द्रीय समिति विस्तार गरेको आरोप लगाउँदै वरिष्ठ नेता पशुपतिशम्शेर राणाले असहमति जनाएपछि राप्रपाभित्रको विवाद बाहिर आएको हो ।
शुक्रबार विज्ञप्ति निकालेर केन्द्रीय समिति विस्तार र अन्य महत्वपूर्ण निर्णयमा केन्द्रीय तहका सबै नेताहरुसँगको परामर्श एवं सहमतिमा सबै पक्षको सन्तुलित प्रतिनिधित्व गरिनुपर्ने र सबैको भावना र चाहना प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष थापाले ४२ केन्द्रीय सदस्य एकांगी रुपमा मनोनयन गरेको भन्दै पूर्ण असहमति रहेको केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेका राणाले जनाएका छन् । राणाले राप्रपालाई विग्रह वा आन्तरिक द्वन्द्वमा फस्नबाट जोगाउन मनोनयनको निर्णय फिर्ता लिन अध्यक्षसँग माग गरेका छन् ।
मधेसी, महिला, आदिवासी जनजाति, पिछडिएको क्षेत्र एवं समुदाय, दुर्गम क्षेत्र, दलितको समानुपातिक र समावेशी प्रतिनिधित्वको समेत कुनै ख्याल नगरी गरिएको मनोनयनको निर्णयले पार्टी विभाजन गर्न सक्ने समेत चेतावनी राणाले दिएका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘अध्यक्षको यो मनोगत निर्णय र कार्यले पार्टीमा अनिष्ट र विग्रहको स्थिति पैदा गर्ने भयले म ज्यादै चिन्तित भएको छु ।’
स्थानीय तह निर्वाचनको समीक्षा, आगामी चुनावी रणनीति लगायत विषयमा छलफल गर्न साउन ४ गते केन्द्रीय समिति बैठक बोलाइसकिएको अवस्थामा गरिएको मनोनयनले केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको अस्तित्वलाई समेत पूर्ण रुपमा नकारेको ठहर राणाको छ । त्यतिमात्रै नभई अप्रत्यासित रुपमा केन्द्रीय समिति विस्तारले राप्रपालाई अध्यक्षको एकल विर्तामा रुपान्तरण गरिएको सन्देश प्रवाह भएको आरोप लगाइएको छ ।