के चीनसँग गरिएको पारवहन सम्झौता उखान टुक्का हो ? – प्रधानमन्त्री ओली

२३ बैशाख, काठमाडौं  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार संसदमा सांसदहरु माझ घोचपेच गर्न भ्याए । आफूलाई उखान-टुक्कामा सीमित भएको भनेर आलोचना गर्नेहरुलाई यसरी जवाफ दिए, ‘काम केही गरेन, उखान-टुक्का मात्रै भन्यो भन्छन्, के चीनसँग गरिएको पारवहन सम्झौता उखानटुक्का हो ? विशाखापट्नम जोक हो ?’

प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको प्रसंगलाई पनि ठट्यौंलो पारामा उठाए । ‘सबैले राष्ट्रिय सहमति-राष्ट्रिय सहमति भन्छन्, मैले त झन् पहिलेदेखि यही भन्दै आएको छु,’ ओलीले भने, ‘मेरो त भन्दा-भन्दा घाँटी नै सुकिसक्यो ।’ यति भन्दै उनले अगाडि राखिएको पानी घटघट पिए । सांसदहलमा हाँसो गुञ्जियो । पानी पिएपछि  उनले थपे, ‘राष्ट्रिय सहमतिको सरकार पनि भन्ने, लोकतन्त्रमा दह्रो प्रतिपक्ष चाहिन्छ पनि भन्ने । दुवै काम एकैसाथ कसरी हुन्छ ?’

पुनर्निमाण प्राधिकरणमा कनिष्ठ कर्मचारी नियुक्त गरिएको भनेर हुने गरेका आलोचनालाई उनले यसरी जवाफ दिए, ‘हामीले सिइओ नयाँ भए रे ? कांग्रेसले बनाएका कति पुराना थिए ? कति वर्षका थिए ? कतिचोटी सिइओ खाएका थिए ?’ अनलाइनखबरमा खबर छ ।

तपाइको मत