१८ कार्तिक ०७९, कैलाली । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमूना मतदान गरिएको छ ।
शत प्रतिशत मत सदर भएको नमूना मतदान कैलाालीको निर्वाचन क्षेत्र नं. ३ को सुख्खड स्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजना गरिएको थियो ।

प्रदेश निर्वाचन कार्यालय, धनगढीको पहलमा भएको नमूना मतदानमा नगरपालिकाका प्रमुख खडक रावत र उपप्रमुख गुलियादेवी चौधरीलगायत गाउँघरमा खटिइरहने स्वास्थ्य स्वयम्सेविका, पालिकाका कर्मचारीलगायत सहभागी भएका थिए ।
सो अवसरमा नगर प्रमुख रावतले नमूना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत संख्या घट्ने बताए ।
निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उदेश्यले नमुना मतदान गरिएको बताए
यसअघि कैलालीको निर्वाचन क्षेत्र नं. ४ को गोदावरी नगरपालिका क्षेत्रमा पनि नमूना मतदान कार्य सम्पन्न भएको थियो ।













