शेरबहादुर तामाङको प्रश्न : कोदोको रक्सीले कलेजो कुहिने, विदेशी रक्सीले सफा हुन्छ ?

२९ माघ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले प्रत्येक नेपालीलाई समृद्ध बन्न, बनाउन पश्चिम पहाडमा गाजाँखेती र नेपालमै उत्पादित रक्सीलाई कानुनमै व्यवस्था गरेर विक्री वितरण गरिनु पर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित आदिवासी जनजाति मगर संघ, नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता तामाङले यस्तो बताएका हुन् ।

“हाम्रो बारी खन्दा पेट्रोल निस्किँदैन, हाम्रो बारी खन्दा सुनखानी निस्किँदैन । हाम्रो बारीमा रोप्दा पश्चिम पहाडमा हरियो सुन चाहिँ फल्छ, यो हाम्रा नेताहरुलाई पनि थाहा छ,” उनले भने, “यो औषधीय वनस्पति हो । यसलाई उपयोग गर्ने हो भने हरियो सुन हरियो हिरा फल्ने हाम्रो जमिन छ ।”

“हामी मगरले कोदोको अलिअलि रक्सी पनि बनाउँछौं । हाम्रा धेरै चाडवाडहरुमा चल्छ पनि । अलिअलि बेचौं न त । केटाकेटीाई कापीकलम किन्न भनेर बेचन खोज्यो भने हाम्रै कानुनले रोक्छ । हाम्रै प्रहरीलाई लगाएर हाम्रो कोदो रक्सी जमिनमुनी गाडिदिन्छ । त्यसैले यो फेर्ने काममा लाग्ने कि नलाग्ने ?” नेता तामाङले कार्यक्रमका प्रमुख अतिथि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ हेर्दै प्रश्न उठाए ।

उनले थप प्रश्न उठाए, “नेपालमा आज खर्वौंको विदेशी रक्सी बिक्री हुन्छ । त्यही बेचेर मान्छे धनी हुन्छ । तर, मगरले बनाउने रक्सी जमिनमुनी गाड्ने ? कोदोको रक्सी खाँदा मुटु कलेजो कुहिन्छ भन्छ भने त्यो विदेशी रक्सीले कलेजो सफा हुन्छ भन्ने ग्यारेण्टी छ ?