१४ बैशाख ०७७, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई कोभिड-१९ जनता आतंकित पार्ने र आफ्नो राजनीतिक उद्देश्य पूर्ति गर्ने हतियार बनाउन नहुने बताएका छन् ।
मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णयबारे सञ्चारकर्मीलाई संक्षिप्त प्रक्रिया दिँदै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।
कोभिड–१९ ले जनजीवनमा नकारात्मक असर पारेको र यसको रोकथाम तथा नियन्त्रणका लागि सबै एकताबद्ध भएर अघि बढ्नु पर्ने बताउँदै उनले भने, “बैठकले सरकारलाई कोभिड–१९ को संवेदनशील विषय जनता आतंकित पार्ने र आफ्नो राजनीतिक उद्देश्य पूर्ति गर्ने हतियार बनाउने प्रयत्न नगर्न भनेको छ ।”
सरकारले निजी अस्पताल समेतको समन्वयमा विशेष कोभिड–१९ अस्पतालको व्यवस्था गर्नुपर्ने साथै मजदुर, किसान, विपन्नलाई छाक टार्न समस्या भएकाले राहत प्याकेज घोषणा गर्नुपर्ने, नेपाल–भारत सीमामा कडाई गर्नुपर्ने भन्दै प्रवक्ता श्रेष्ठले कोरोना रोकथाम नियन्त्रणका लागि सम्पूर्ण पार्टी पंक्तिलाई सेवा भावका उद्दार र राहतमा जुट्न आग्रह गरिएको पनि बताए ।
उनले उज्यालो नेटवर्कका पत्रकारहरुलाई प्रेस काउन्सिलले गरेको निर्णय भन्दा बाहिर गई अदालतको आदेशलाई समेत ठाडो उल्लंघन गरेर सरकारले आतंकित पार्ने काम गरेको बताए ।
यस्तै प्रेस जगतमाथि नियन्त्रण गर्ने राज्यको दमनकारी क्रियाकलापको निन्दा तथा भत्र्सना गर्दै बैठकले गिरफ्तार पत्रकारहरुलाई अबिलम्ब रिहाईको माग गरेको पनि उनले बताए ।
यसैगरी एमसीसी परियोजनाका सवालमा नेकपा माओवादी केन्द्रले नयाँ सरकार बनाउन एउटा समझदारी गरिसकेको भनेर केही पत्रिकामा आएको खबर सत्य नभएको प्रवक्ता श्रेष्ठले बताए ।
राष्ट्रिय सभाको आसन्न निर्वाचनको लागि आवश्यक तयारी गर्ने निर्णय बैठकले गरेको भन्दै उनले जनता समाजवादी पार्टी (जसपा)ले निर्णय गर्न साथ नयाँ सरकार र अविश्वासको प्रस्ताव अघि बढ्ने बताए ।
यस्तै आगामी दिनमा सिङ्गो पार्टीलाई उत्पादनसँग कसरी जोड्ने भन्ने विषयमा पनि बैठकमा गम्भीर छलफल भएको बताए ।