६ भदौ ०७७, काठमाडौं । सरकारले चैत्रदेखि साउन मसान्तसम्म कोरोना भाइरस (कोभिड-१९) संक्रमण, रोकथाम र नियन्त्रणका लागि १३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ बराबरको खर्च भएको जनाएको छ ।
अर्थमन्त्री समेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गत चैत महिनादेखि साउन मसान्तसम्म कोभिड–१९ संक्रमण, रोकथाम र नियन्त्रणका लागि सरकारले सो रकम खर्च भएको बताएका हुन् ।
प्रवक्ता खतिवडाले संघीय सञ्चित कोषबाट ५ अर्ब ८४ करोड ७९ लाख ९४ हजार रुपैयाँ खर्च भएको बताए । जसमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ अर्ब १७ करोड खर्च भएको छ । रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ ।
उनले कोभिड–१९ कोषबाट १ अर्ब ३ करोड ६९ लाख ९६ हजार विभिन्न निकायलाई दिइएको बताए ।
प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख र बाग्मती १३ करोड ६७ लाख रुपैयाँ, गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।
यसैगरी स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको बताए । उनले ती रकम रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति साथै क्वारेन्टाइन व्यवस्थापनमा खर्च भएको जानकारी दिए ।