कोरोनाले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न ‘एक्सन टिम’

२२ फागुन ०७६, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रमा कोरोना (कोभिड–१९) ले पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न ‘एक्सन टिम’ बनाउन निर्देशन दिएका छन् ।

बुधबार सरोकारवाला निकायहरुसँग मन्त्रालयमा गरिएको छलफलमा मन्त्री भट्टराईले नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल पर्यटन बोडलाई यस्तो निर्देशन दिएका हुन् ।

नीतिगत निर्णय गर्नुपरे मन्त्रालयमा लेखी पठाउनसमेत निर्देशन दिँदै आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टिम बनाइने बताउँदै मन्त्री भट्टराईले सरकारले चाल्नुपर्ने कदमबारे तीन दिनभित्र सुझाव दिन आग्रह समेत गरेका छन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पर्यटकको आवतजावत हुने विमानस्थलमा समेत स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर ‘हेल्थ डेस्क’ राख्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

सो कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोरोना भाइरसको अहिलेसम्मको अवस्थाबारे जानकारी गराएका थिए । भने, प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी, वायुसेवा सञ्चालक संघ, ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान), होटल एशोसिएसन अफ नेपाल (हान) लगायतका संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।