ट्रेड युनियन र रोजगारदाता बिच असल श्रम सम्बन्धमा गम्भीर संकट उत्पन्न

२३ असार ०७७, काठमाडौं । अखिल नेपाल अटोमोबाईल्स मजदुर संघले ट्रेड युनियन र रोजगारदाता बिचको असल श्रम सम्बन्धमा गम्भीर संकट उत्पन्न भएको जनाएको छ ।

मंगलबार अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यालयमा बागमती प्रदेश सांसद एवम् महासंघका अध्यक्ष जगत सिम्खडाको विशेष उपस्थितिमा गरिएको उक्त पत्रकार सम्मेलनमा अटोमोबाईल्स मजदुर संघले यस्तो बताएको हो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुरन्जन गिरीले कोरोना भाइरसका कारण बनाएर रोजगारदाताहरुले श्रमिक कटौतीको प्रक्रिया अगाडि बढाएकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताउँदै भने, “हाम्रो आग्रहलाई अन्यथा लिई एकतर्फी ढंगबाट अगाडि बढेमा रोजगारी सुरक्षा गर्न जुनसुकै कदम चाल्नपछि नपर्ने यसै प्रेस विज्ञप्तिमार्फत् जानकारी गराउदछौं ।”

“ऐनले गरेको सकारात्मक व्यवस्थालाई आफ्नो अनुकूलतामा प्रयोग गरी महामारीले देश आक्रान्त बनेको अवस्थामा श्रमिक कटौतीको हतकण्डाअपनाई अटो मोबाईल्स क्षेत्रमा कार्यरत श्रमिकहरुलाई रोजगारी बिहीन बनाउने जुन योजना बनाइएको छ, यस विषयको हाम्रो संगठन शसक्त प्रतिरोध गर्न तयार रहेको छ” संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै सहमति र सहकार्यको माध्यमबाट श्रमिकको रोजगारी जोगाउने बिषयमा जुनसुकै तवरले छलफल गर्न तयार रहेको साथै सम्पूर्ण विजनेश हाउसलाई आफ्नो निर्णय फिर्ता लिई आजको आवश्यकता, श्रमिकको सुरक्षा र प्रतिष्ठानको स्थायित्वको बिषयमा ट्रेड यूनियनसँग छलफल गरी अगाडि बढ्न आग्रह समेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

अखिल नेपाल अटोमोबाईल्स मजदुर संघले आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा बागमती प्रदेश सांसद एवम् महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाको विशेष उपस्थिति रहेको थियो । यस्तै अन्टुफ उपाध्यक्ष एसबी थापा मगर, सचिव सोम बहादुर तामाङका साथै अखिल नेपाल पेट्रोलियम मजदुर संघका केन्द्रीय अध्यक्ष शीव पोखरेल, अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष अशोक थापा, अन्टुफ ललितपुरका अध्यक्ष लिला श्रेष्ठको उपस्थिति रहेको थियो ।

यसैगरी अखिल नेपाल अटोमोबाईल्स मजदुर संघका केन्द्रीय अध्यक्ष पुरन्जन गिरी, उपाध्यक्ष शेर बहादुर तामाङ, महासचिव कैलाश राना लगायतका पदाधिकारीहरु साथै विभिन्न अटोमोबाईल्स प्रतिष्ठान मजदुर नेताहरुको समेत उपस्थिति रहेको थियो ।