२४ साउन ०७७, काठमाडौं । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ परीक्षणबाट नेपालको पैसा देशबाहिर गइरहेकाले कोरोना संक्रमण, रोकथाम र नियन्त्रणमा आफैं सचेत हुनुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा महानगरपालिका प्रमुख शाक्यले सरकारले मात्रै चाहेर कोरोना नियन्त्रण गर्न नसक्ने भन्दै आफैं सचेत हुनुपर्ने बताएका हुन् ।
पीसीआर परीक्षणको दायरा बढाउन सवत्र माग भइरहेको बेला उनले भने, “हामीले बुझ्नु पर्छ, पीसीआर परीक्षण भनेको औषधि होइन, परीक्षणका जम्मै सामान विदेशबाट ल्याउनु पर्छ । यसबाट हाम्रो पैसा देशबाहिर गइरहेको छ, त्यसैले संक्रमण, रोकथाम र नियन्त्रणमा हामी स्वयं सचेत हुनुपर्दछ।”
यस्तै सरकारले जे गरे पनि सडकमा आन्दोलन र जुलुस गर्नु उचित नभएको भन्दै उनले जुलुससँगै कोरोना संक्रमण हुनसक्ने भएकाले यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।
उनले कोरोना परीक्षण गरेर रिर्पोट नेगेटिभ आएता पनि संक्रमितसँग कलोज कन्ट्याक्ट भए कोरोना सर्ने सम्भावना उत्तिकै भएकाले यसको संक्रमण, रोकथाम र नियन्त्रणमा स्वयंले नै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्ने बताए ।













