३२ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको बताएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जेठ ३१ गते राती आइसोलेसनमै थप एक जना कोरोना संक्रमितको निधन भएको बताएका हुन् ।
प्रवक्ता गौतमले गुुल्मीको धुर्कोट गाउँपालिका ४ का वर्ष ३६ एक पुरुषको निधन भएको र ती पुरुष क्यान्सर रोगबाट समेत पीडित भएको जानकारी दिए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
उनले हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको बताए । यस्तै उनले ९ सय ७४ जना निको भएको र हाल ४ हजार ७ सय ६७ जना आइसोलेसनमा रहेको पनि बताएका छन् ।