कोरोना संक्रमितको कूल संख्या ७१७७ मध्ये महिला ५३९ र पुरुष ६६३८ जना

३ असार ०७७, काठमाडौैं । नेपालमा थप ५ सय ८६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै संक्रमितको कूल संख्या ७ हजार १ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।

प्रवक्रा गौतमले आज थपिएका संक्रमितहरुमा ४० जना महिला र ५ सय ४६ जना पुरुष रहेका छन् । यसरी संक्रमित हुनेमा कूल संक्रमित ७ हजार १ सय ७७ जना मध्ये ५ सय ३९ महिला र ६ हजार ६ सय ३८ पुरुष रहेको पनि बताए ।

आज डिस्चार्ज हुने नौ जना पुरूष रहेको र योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ६७ पुगेको साथै रेड जोनमा ५ सय ५ जना रहेको पनि उनले बताए ।

थप एकजना कोरोना संक्रमितको मृत्यु

उनले थप एकजना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिँदै कोभिड–१९ बाट मृत्यु भएकाको कूल संख्याया २० पुगेको बताए ।

नेपाल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण देखिएको भन्दै उनले ती महिला अस्पतालमा मृगौलाका कारणले गत जेठ ३० गते अस्पतालमा भर्ना भएको बताए । साथै, उनको असार १ गते कोभिड परीक्षणका लागि स्वाव संकलन गरी भेरी अस्पतालमा परीक्षण गर्न पठाइएको रिर्पोट नआउँदै असार १ गते साँझ ५ बजे नेपाल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको बताए ।

मृतक महिलाको असार २ गते रिर्पोट आउँदा कोभिड–१९ पोजेटिभ देखिएको बताउँदै पत्रकार सम्मेलनमा गौतमले ती महिला बाँके जिल्लाको बैजनाथ गाँउपालिका ६ की ४६ वर्षीया महिला रहेको जानकारी दिए ।