काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बिहीबार थप एकजनामा कोरोना संक्रमण भेटिएको पुष्टि गर्दै योसँगै संक्रमितको संख्या ६ पुगेको बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको प्रवक्ता देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
छैटौं संक्रमित व्यक्ति चैत ४ गते कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएका बताउँदै उनले यसअघि सोही फ्लाइटमा आएका दुई जनामा कोरोना पोजिटिभ भेटिएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोजेटिभ रिर्पोट आएका मध्ये हालसम्म १ जना निको भएको बताएको छ भने यसअघि पोजेटिभ रिर्पोट आएको दुई जनाको दोस्रो परीक्षण रिर्पोट समेत पोजेटिभ नै देखिएको जनाएको छ ।
हालसम्म १ हजार १ सय ८४ वटा नमुना परीक्षण भएकोमा १ हजार १ सय ७८ जनाको रिर्पोट नेगेटिभ आएको बताउँदै प्रवक्ता देवकोटाले देशभरि १०५ जना आइसोलेसनमा रहेको जानकारी पनि दिए ।