कोरोना संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुग्यो, आइसोलेसनमा ४४ हजार ८७७ जना

६ कार्तिक ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा तीन हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार गएको चौबीस घण्टामा तीन हजार ६३७ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ ।

यस्तै हाल आइसोलेसनमा ४४ हजार ८७७ जना र क्वारेन्टाइनमा ३ हजार ७५१ जना रहेको मन्त्रालयले बताएको छ ।

कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा तीन हजार २१५ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या एक लाख दुई हजार ८२० जना पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयले थप २१ जना कोरोना संक्रमितको निधन भएको र योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ८१२ पुगेको बताएको छ ।