कोरोना संक्रमित एक पुरुषको निधन, कूल संक्रमित संख्या १८ हजार २४१ पुगे

८ साउन ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित एक पुरुषको निधन भएको जानकारी दिएको छ ।

मन्त्रालयको प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा वीरगन्जका ७० वर्षीय एक पुरुषको कोरोना भाइरसका कारण साउन ७ गते मृत्यु भएको बताएका हुन् ।

प्रवक्ता गौतमले श्वासप्रश्वासको समस्या भएका ती पुरुषको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको बताए । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा उपत्यकामा थप नौसहित १४७ जना कोभिड–१९ नयाँ संक्रमित थपिएको उनले जानकारी दिए । योसँगै कूल कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।

यस्तै १५६ संक्रमित निको भएर घर फर्केका छन् । योसँगै निको हुने संख्या १२ हजार ८ सय ४० पुगेको छ ।

उनले हाल ५ हजार ३ सय ५८ जना आइसोलेसनमा र २० हजार ९८ जना क्वारेन्टाइनमा रहेको बताए ।