कोरोना संक्रमित थप दुईको निधन, संक्रमित संख्या ७ हजार ८ सय ४८ पुग्यो

४ असार ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा कोरोना संक्रमित थप दुईजनाको निधन भएको पुष्टि गर्दै संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको बताएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार थप दुई जना कोरोना संक्रमितको निधन भएको पुष्टि गर्दै संक्रमित संख्या ७ हजार ८ सय ४८ पुगेको बताएका हुन् ।

कोरोना संक्रमित थप दुई जना कैलालीको गोदावरी नगरपालिका– ४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा– २ की ४३ वर्षीया महिलाको मृत्यु भएको भन्दै प्रवक्ता गौतमले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको बताए ।

उनले हालसम्म निको हुनेको संख्या १ हजार १ सय ८६ पुगेका र आइसोलेसनमा ६ हजार ६ सय ४८ जना रहेको पनि जानकारी दिए ।