३१ जेठ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित थप २ जनाको मृत्यु र २७३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको बताएका छन् ।
पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा उनलाई कोनोरा संक्रमण पुष्टि भएको थियो ।
यस्तै बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।
निमोनिया ग्रस्त ती बालकको आरडीटी र पीसीआर दुबै टेस्ट पोजेटिभ आएको बताइएको छ ।
नेपालमा अहिलेसम्म मृत्यु भएका १८ जनामा कोरोना संक्रमित पुष्टि भएको भन्दै प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा कूल संक्रमित संख्या ५ हजार ३ सय ३५ पुगेको र ९ सय १३ जना निको भएको साथै ४ हजार ४ सय ४ जना आइसोलेसनमा रहेको बताए ।