१० बैशाख ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले बुधबारसम्म कोरोना भाइरसको संक्रमित संख्या ४५ पुगेको र सात जना निको भएर घर फर्किएको बताएको छ ।
स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरेर हालसम्म पोलीमरीज चेन रियाक्सन (पीसीआर) विधिबाट ९ हजार ११ जना र -यापिड डाइगोनेस्टिक टेस्ट (आडीटी) विधिबाट एक्तीस हजार ४ सय २० जना गरी कूल चालिस हजार ४ सय ३१ जनाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिँदै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर विधिबाट परीक्षण गरिएका नमूनाहरु मध्ये ३ वटामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै कोरोना संक्रमित संख्या ४५ पुगेको बताएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आज कोभिड–१९ पोजिटिभ देखिएकाहरु २४ वर्षीय पुरुष, ६० वर्षीय पुरुष र ७२ वर्षीय पुरुष रहेको जानकारी दिए ।
प्रवक्ता देवकोटाले दिएको जानकारी अनुसार प्रदेश १ मा तीन हजार ९७, प्रदेश २ मा तीन हजार ९ सय २५, बागमती प्रदेशमा पाँच हजार ९ सय १५, गण्डकी प्रदेशमा चार हजार २ सय ७२, प्रदेश ५ मा दुई हजार ५ सय ९६, कर्णली प्रदेशमा चार हजार ३ सय ८ र सुदूरपश्चिम प्रदेशमा सात हजार ३ सय ७ वटा आरडीटी विधिबाट परीक्षण भइरहेका छन् ।
उनले क्वारेन्टाइनमा रहने व्यक्तिहरुको संख्या आठ हजार ५ सय ९५ साथै आइसोलेसनमा सम्भावित संक्रमित ९५ जना रहेको बताए । जसमध्ये काठमाडौं उपत्यकामा ३ जना र उपत्यका बाहिरका ९२ जना रहेका छन् ।
यसैबीच प्रवक्ता देवकोटाले भारत सरकारबाट विभिन्न १८ किसिमका औषधिहरु (२३ टन) भारतीय राजदूत मार्फत् प्राप्त भएको बताए । उनले यो चरणबद्धरुपमा प्राप्त हुने जानकारी दिए ।
यस्तै चीनको तिब्बत सरकारबाट कोभिड १९ परीक्षण रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने सामग्रीहरु पीसीआर मेशिन २ वटा, इन्फ्रारेड थर्ममिटर हजार वटा, टेस्टीङ्ग किट २० हजार, पीपी सेट १० हजार, मास्क १० हजार प्राप्त भएको र आजै तातोपानी नाकाबाट काठमाडौं आइपुग्ने बताए ।