कोरोना संक्रमित ३ जना थपिए, लोकल ट्रान्समिसन देखिएसँगै केस दोस्रो चरणमा प्रवेश

२२ चैत ०७६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ३ जना कोभिड–१९ को संक्रमित भेटिएको जानकारी दिएको छ ।

शनिबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)मा कोरोना संक्रमणको ल्याव रिर्पोट पोजेटिभ भेटिएको बताएका हुन् ।

प्रवक्ता देवकोटाले संक्रमित मध्ये दुई जना पुरुष भारतबाट आई कैलाली र कन्चनपुरको क्वारेन्टाइनमा रहेको साथै अर्का एक महिला भने संक्रमितको परिवारका सदस्य रहेको जानकारी दिए ।

उनले संक्रमित महिला सेतीको प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ भने अरु दुई जना पुरुषलाई पनि उपचारका लागि सोही अस्पतालमा लगिसकेको बताए ।

नेपालमा अहिलेसम्म बाहिरबाट आएकाहरुलाई मात्र कोरोना संक्रमण पोजेटिभ देखिएकोमा पहिलोपटक ३४ वर्षीया महिलामा लोकल ट्रान्समिसन भएको र देश दोस्रो चरणमा प्रवेश गरेको प्रवक्ता देवकोटाले बताए ।

“एक जना संक्रमित परिवारको सदस्य हुनुहुन्छ, उहाँको ट्राभल स्टे छैन् । यो पहिलो केस, दोस्रो चरणमा प्रवेश गरेको देखिन्छ” उनले भने, “अहिलेसम्म बाहिरबाट आउनुभएको व्यक्तिमा मात्रै संक्रमण देखिएकोमा पहिलोपटक परिवारको सदस्यमा संक्रमण गएको देखिन्छ । यसलाई हामी लोकल ट्रान्समिसन भन्छौं ।”

“यो संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस हो नेपालमा । र, यसले थप पुष्ट्याइँ के गर्दछ भने क्वारेन्टाइनमा कति टाइम अनिवार्यरुपमा र कति सावधानीपूर्वक बस्नु पर्दछ भन्ने कुरा देखाउँछ” प्रवक्ता देवकोटाले भनेका छन् ।

उनले कोरोनालाई एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन नदिनका लागि जो विदेशबाट आएको छ ती सबैले अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्ने र सावधानीका सबै उपायहरु अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

यी तीन जनासँगै नेपालमा ‘कोभिड–१९” संक्रमितको संख्या ९ जना पुगेको छ भने जसमा १ जना निको भएर गइसकेको छ । शनिबार देशभर ६९ जना आइसोलेसनमा राखिएका छन् ।

गत डिसेम्बरबाट सुरु भई विश्वभर महामारीका रुपमा फैलिरहेको ‘कोभिड–१९” बाट विश्वभरि ५८ हजार ९५५ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ११ लाख १९ भन्दा बढी पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले यो रोगको संक्रमण २०५ देशमा देखिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ को पछिल्लो अवस्थाबारे  जानकारी दिँदै प्रवक्ता डा. विकास देवकोटा :

https://www.facebook.com/mohpnep/videos/vb.489034948251696/930434130745252/?type=2&theater