२० असार ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरस (कोभिड–१९) संक्रमित थप दुई जनाको मृत्यु भएको बताएका हुन् ।
मृत्यु हुने गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही देवदेहका ७५ वर्षीय पुरुष रहेका छन् ।
पालुङटारका ४४ वर्षीय पुरुष १६ गते कतारबाट आएका थिए । ती पुरुष पालुङटारको जीवनज्योति माविको क्वारेन्टाइनमा बसेका र स्वास्थ्य बिग्रिँदै गएपछि जिल्ला अस्पतालको आइसोलेनमा भर्ना भएका थिए ।
उनको उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको र आज बिहान ५ बजेर ५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
यस्तै देवहदका पुरुष क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र उनको पनि १७ गते उपचारकै क्रममा निधन भएको थियो ।
मन्त्रालयका अनुसार त्यसको भोलिपल्ट मृतकको कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३४ पुगेको छ ।