काठमाडौं । सरकारले ‘क्यान्सर प्रोटोकल’ नाम दिइएको नयाँ व्यवस्था अन्तगर्त १७ प्रकारको क्यान्सर रोगको उपचारका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरेको छ ।
क्यान्सरको उपचार गर्दा लिईने शुल्क, उपचारको तरिका, कुन क्यान्सरमा कस्तो औषधि दिने, कति मात्रामा दिने, कति समय दिने लगायतका विषयमा पनि प्रोटोकलमा उल्लेख गरिएको छ ।
कतिसम्म उपचार निःशुल्क गर्ने, कसरी गर्ने, के के खर्च बिरामी आफैँले गर्नुपर्छ भन्ने लगायतका विषयहरु पनि प्रोटोकलमा लेखिएको छ ।
नयाँ व्यवस्था लागू भएपछि क्यान्सर रोगको उपचार गर्दै आएका अस्पतालहरुले आफूखुशी क्यान्सरको उपचार गर्न नपाउने भएका छन् ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको व्यवस्थापन महाशाखाको नेतृत्वमा क्यान्सर विशेषज्ञसहितको टोलीले आठ महिनाको छलफल र अध्ययनपछि बनाएको ‘क्यान्सर प्रोटोकल’ लागू भएको हो ।
स्वास्थ्य व्यवस्थापन महाशाखाका निर्देशक डा.विकास देवकोटाले हस्तान्तरण गरेपछि प्रोटोकल लागू भएको स्वास्थ्यमन्त्री गगन थापाले घोषणा गरेका थिए ।
स्वास्थ्यमन्त्री थापाले सोमबारदेखि प्रोटोकल लागू गरिएको बताए ।
थापाले अन्य ११ प्रकारका कडा रोगको पनि उपचार प्रोटोकल बनाउन समेत निर्देशन दिएका थिए ।
मन्त्री थापाले उपचार सेवालाई निःशुल्क गर्ने प्रयाससँगै कम खर्चिलो बनाउने उपायको रुपमा प्रोटोकल बनाएर लागू गरिएको बताए ।
सरकारले क्यान्सर लगायतका १२ कडा रोगलाई रु. एक लाख उपलब्ध गराउँदै आएको छ । क्यान्सरका बिरामीलाई उक्त रकम दिए पनि उपचारमा सहजता आउन सकेको थिएन ।
प्रोटोकल नहुँदा फरक फरक अस्पतालमा चिकित्सकले फरक उपचार पद्धति, फरक औषधि, फरक खर्च हुने गरेकाले विपन्नका लागि अव्यवस्थित भएको थियो ।