क्यान्सर दिवसका अवसरमा साइकल र्‍याली

२० माघ ०७४,  काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सर दिवसका अवसरमा साइकल र्‍याली गरेको छ ।

अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सरविरुद्ध सचेतना जगाउने उद्देश्यले क्यान्सर दिवसका अवसरमा साइकल र्‍याली गरेको हो । क्यान्सरको पहिचान, उपचार र रोकथामका लागि जनचेतना जगाउन हरेक वर्ष फेब्रुअरी ४ मा विश्वभरी क्यान्सरविरुद्धको दिवस मनाइन्छ ।

र्‍यालीको नारा ‘राइड फर लाइफ’ रहेको छ । विगत तीन वर्षदेखि भइरहेको र्‍याली काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण कर्पोरेट टावरबाट सुरु गरी गौशाला, चाबहिल, महाराजगञ्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, जमल, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर हुँदै तीनकुनेमा आएर समापन भएकाे छ ।

र्‍यालीको उद्घाटन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गरे । उद्घाटन समारोहमा बोल्दै क्षेत्रीले क्यान्सरविरुद्ध अन्नपूर्णले चालेको कदमको उच्च प्रश‌ंसा गर्दै क्यान्सरको सचेतना देशव्यापी फैलाउन आवश्यक रहको बताए ।

कार्यक्रममा नेपाल क्यान्सर फाउन्डेसनका चेयरमेन सुशील पन्तले सबै मिलेर क्यान्सरविरुद्ध सचेतना फैलाउन आवश्यक भएको बताउँदै क्यान्सर न्यूनिकरण गर्न सबै जागरुक हुनुपर्ने बताए ।

र्‍याली सहभागीहरुलाई लक्की ड्रमार्फत् पुरस्कार  दिएको थियो । र्‍यालीमा सहभागीमध्ये लक्कली ड्रबाट सुशील धितालले प्रथम पुरस्कार माउन्टेन बाइक पाए । दोस्रो उपहार दुई जना सानुबाबु थापा र रत्मान गुरुङले मिम्रिक एयरको काठमाडौ–पोखराको दुईतर्फी टिकट पाएका छन् ।

त्यस्तै, तेस्रो पुरस्कारको लक्की ड्रमा ७ जना (राजीव, रेगन अवाले, सरोज पन्थी, भद्रगोल किराती, उदयराज अधिकारी, पुष्पराम केसी, मधुसुदन कोइराला)ले ६ महिनासम्म अन्नपूर्ण पोस्ट र सम्पूर्ण साप्ताहिक निशुल्क पाउने छन् ।

त्यसैगरी बम्पर उपहार रहेको ४३ इन्चको टेलिभिजन भने लक्की ड्रमार्फत् साइकल र्‍यालीमा सहभागी समिम पौडेलले जिते । साइकल र्‍यालीमा सयौको संख्यामा सर्वसाधारण र विशिष्ट व्यक्तिले सहभागीता थियो ।

अन्नपूर्ण मिडिया नेटवर्कले केही वर्षयता सर्वसाधारणलाई क्यान्सरविरुद्ध सचेत गराउन साइकल र्‍याली गर्दै आएको छ । नेटवर्कले यस वर्षदेखि पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण अभियानसमेत थालेको छ ।

 

 

 

 

तपाइको मत