क्याम्पस प्रमुख डा. कर्णद्वारा पदभार ग्रहण

१९ चैत्र ०८१, राजबिराज । सप्तरीको राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको नवनियुक्त प्रमुख सहप्राध्यापक डा. सुशिलचन्द्र कर्णले पदभार ग्रहण गरेका छन् ।

मबिव क्याम्पसमा मंगलबार आयोजित एक कार्यक्रम बिच नवनियुक्त प्रमुख कर्णले पदभार ग्रहण गरेका हुन् ।

विश्वविद्यालयको उपकुलपति कार्यालयको चैत्र १३ गतेको कार्यकारिणी परिषदको निर्णयअनुसार कर्णलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको थियो । प्रमुख कर्ण गणित विषयका सहप्राध्यापकको रूपमा लामो समयदेखि अध्यापन गर्दै आएका छन् ।

तत्कालीन क्याम्पस प्रमुख राजिवकुमार मिश्रको पदावधि माघ २८ गते समाप्त भएदेखि क्याम्पस प्रमुख पद रिक्त रहेको थियो । यस अघि निमित क्याम्पस प्रमुखको जिम्मेवारी रामअशिष यादवले पाएका थिए ।

उक्त अवसरमा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूले नवनियुक्त क्याम्पस प्रमुख डा.कर्णलाई फूलमाला, अबिर लगाई स्वागत गरेका थिए ।