१४ जेठ ०७७, कञ्चनपुर । नेपाली काँग्रेसबाट जननिर्वाचित कृष्णपुर नगरपालिका –७ का वडाध्यक्ष कल्लु राना क्वारेन्टाइन व्यवस्थापन गर्नेक्रममा हृदयघात भई निधन भएको छ ।
भारतबाट आएका नेपाली नागरिकहरुका लागि क्वारेन्टाइन व्यवस्थापनमा खटिरहेकै बेला मंगलबार राति १०ः५५ बजे अध्यक्ष रानाको निधन भएको नेपाल ट्रेड युनियन काँग्रेस सुदूरपश्चिम प्रदेश अध्यक्ष सिद्धराज भट्टले जानकारी दिए ।
अध्यक्ष भट्टकाअनुसार गौरीफन्टा र गड्डाचौकी नाकाबाट पछिल्लो तीनदिनमा भारतबाट करिब ६ हजार नेपाली नागरिक नेपाल प्रवेश गरेको र उनीहरुको व्यवस्थापन गर्ने क्रममा अहोरात्र खटिरहेका अध्यक्ष राना कृष्णपुर नगरपालिका, कलुवापुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँबाट खटियाहरु मगाएर क्वारेन्टाइन बनाउनेक्रममा लडेर बेहोश भएका थिए ।
अध्यक्ष रानालाई तत्काल उपचारका लागि सदूरपश्चिम प्रदेश अस्पताल धनगढी लगिए पनि उनको निधन भइसकेको अस्पतालले बताएको उनले जानकारी दिए ।
कोभिड–१९ बाट आफ्ना वडाबासी नागरिकलाई सुरक्षित राख्ने अभियानमा लागिरहेकै बेला अतिनै मिलनसार अध्यक्ष रानाको अकल्पनीय निधन भएको भन्दै नेपाल ट्रेड युनियन काँग्रेस सुदूरपश्चिम प्रदेशले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।