काठमाडौं । बिहीबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापालाई बोलाएर त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र चिकित्सा शिक्षा अध्ययन संस्थान (अाइअाेएम)का नवनियुक्त डिन केपी सिंहका बारेमा निकास निकाल्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले डिनलाई राजीनामा गराएर सहमतिको बाटो खोज्न स्पष्ट निर्देशन दिइसकेको र स्वास्थ्यमन्त्री गगन थापाले उपकुलपति खनियाँ र डिन सिंहलाई हटाउन अाफूले प्रयास गर्ने बताए पनि खनियाँलाई हटाउन कांग्रेस र डिन हटाउन खनियाँ तयार नहुँदा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
वरिष्ठताका आधारमा डिन नियुक्ति गर्न त्रिवि उपकुलपति र आइओएम डिनसमेत बाधक बनेपछि डा. गोविन्द केसीको १९ दिन लामो अनशन सहमतिमा टुंग्याउने प्रयास फेरि असफल भएको हो ।
बिहीबार वार्ता जारी रहँदा डा. केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको खबर आइरहेपछि सरकारी उच्च अधिकारीले पटकपटक आग्रह गर्दा पनि त्रिवि उपकुलपति तीर्थ खनियाँले अटेरी गर्दा सहमति हुन सकेन ।
बुधबार रातिदेखि नै डा. केसीको मुटुको चालमा अस्थिरता सुरु भएपछि उपचारमा संलग्न चिकित्सक बढी चिन्तित भएका छन् । जीवन रक्षाका लागि दबाब दिन सरकारी चिकित्सकलगायत अन्य संघसंस्थाले देशव्यापी रुपमा स्वास्थ्य सेवा बन्दका कार्यक्रमसमेत घोषणा गरिसकेका छन् ।
राति अबेरसम्म स्वास्थ्य र शिक्षामन्त्री एकै ठाउँमा बसेर उपकुलपति खनियाँ र आइओएम डिन केपी सिंहलाई समेत डा. केसीको जीवन रक्षाका लागि सम्झौताको बाटो खोज्न आग्रह गरे पनि दुवैको अटेरीका कारण सम्झौता हुन नसकेको डा. केसीका तर्फबाट वार्ताका लागि गएका चिकित्सक डा. रञ्जन सापकोटाले बताएका छन् ।
शिक्षामन्त्री पौडेल र स्वास्थ्यमन्त्री थापाले दिनभरि नै सहमति जुटाउने प्रयास गरेका थिए । साँझ दुवै मन्त्री शिक्षा मन्त्रालयमा बसेर त्रिवि पदाधिकारी र आइओएम डिनलाई समेत बोलाएका थिए । उपकुलपति खनियाँलाई हटाउन कांग्रेस तयार नहुने र डिन हटाउन खनिया तत्पर नहुँदा समस्या जटिल बनेको छ ।