खुलामञ्चभित्र बनाइएका टहरामा चल्यो डोजर

१४ बैशाख ०७५, काठमाडौं । खुलामञ्चभित्र बनाइएका टहराहरू लगायतका संरचनाहरू काठमाडौं महानगरपालिकाले शनिबार दिउँसो डोजर लगाएर भत्काइदिएको छ ।

खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहरा पसलहरूको जनस्तरबाट विरोध भएपछि महानगरपालिकाले शनिबार टहरा र पसलहरूमा डोजर चलाएको हो ।

स्वच्छन्द विल्डर्सका ठेकेदार मनोजकुमार भेटवालको मिलेमतोमा खुल्लामञ्च टहरा बनाई भाडा समेत उठाइएको खुलासा भएपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमै महानगरपालिकाले टहराहरू भत्काएको हो ।

खुलामञ्चभित्र ३ दर्जभन्दा बढी टहरा बनाएर पसलहरू सञ्चालन हुँदै आएका थिए । ती पसलहरूमा डोजर चलाइरहँदा पसलेहरूले भने सामान निकाल्न महानगरपालिकाले आवश्यक समय नदिएको गुनासो पोखेका थिए ।

कतिपय पसलहरूमा चाबी लागेकाले त्यस्ता पसलका सामानहरू छरपस्ट भएको देखिन्थ्यो ।

तपाइको मत