खेल क्षेत्रको प्रगतिका लागि अखिल नेपाल खेलकुद महासंघले हस्तक्षेप गर्नुपर्छ -प्रचण्ड

२० भदौ ०८२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले खेलकुद क्षेत्रको समग्र विकासका लागि अखिल नेपाल खेलकुद महासंघले आक्रामक ढंगले हस्तक्षेप गर्न आवश्यक रहेको बताएका छन् ।

अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको रूपान्तरण पार्टीको प्रभावकारी हस्तक्षेप बिना सम्भव नरहेको स्पष्ट पारेका हुन् ।

“अखिल नेपाल खेलकुद महासंघको हस्तक्षेप बिना, हाम्रो एकता र गति बिना यो क्षेत्रमा क्रान्तिकारी रूपान्तरण सम्भव छैन” उनले भने ।

विगतमा माओवादी केन्द्रको नेतृत्वमा खेलकुद मन्त्रालय तथा परिषद् रहेका बेला खेल क्षेत्रमा गुणात्मक सुधार देखिएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले हालको सरकार खेलकुद विकासप्रति उदासीन रहेको, पूर्वनिर्धारित राष्ट्रिय खेलकुद कार्यक्रमहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा अवरुद्ध गरेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले खेलकुद क्षेत्रमा लगानी, जीवनको ग्यारेन्टी, र पेशागत वातावरण तयार गरिएमा यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउन सक्ने धारणा व्यक्त गरे । उनले भने, “राज्यले ध्यान दिने हो भने नेपाली युवाले विश्व रेकर्ड बनाउन सक्छन् ।”

क्रिकेट रंगशालाहरूको निर्माण तथा तिनीहरूलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय साथै खेल क्षेत्र र पूर्वाधारको विकासमा माओवादी नेतृत्वको सरकारले उल्लेखनीय प्रगति गरेको बताए ।

उनले भने, “जतिजति बेला माओवादी केन्द्रको नेतृत्वमा खेलकुद मन्त्रालय र परिषद् हुन्छ, त्यतिबेला खेल क्षेत्रमा गुणात्मक प्रगति भएको पाइन्छ । त्यसकारण, यस क्षेत्रको प्रगतिका लागि पार्टीको हिसाबले माओवादी केन्द्र र संगठनको हिसाबले अखिल नेपाल खेलकुद महासंघले मेहनत र हस्तक्षेप गर्नुपर्ने अवस्था छ । म आयोजक कमरेडहरूलाई यसका लागि आग्रह गर्दछु ।”