गएको चौबीस घण्टामा ६ जना कोरोना संक्रमितको निधन, १२२८ जनामा संक्रमण पुष्टि

१८ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा ६ जना कोरोना संक्रमितको निधन हुनुको साथै १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ९१७ जना संक्रमित निको भई घर फर्किएको भन्दै यस्तो जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमले राष्ट्रिय अद्यावधिक विवरणबारे जानकारी दिँदै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको कूल संख्या २५७ र संक्रमितको कूल  संख्या ४२ हजार ८७७ पुगेको बताए । साथै उनले सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको बताए ।

उनले गएको चौबीस घण्टामा ४ महिला र २ पुरुष गरी ६ जना कोरोना संक्रमिको निधन भएको बताए । जसमध्ये चितवनको ४० वर्षीया महिला, भक्तपुरको ४० वर्षीया महिला, तनहुँको ९२ वर्षीया महिला, रुपन्देहीको ७७ वर्षीया महिला साथै सिन्धुपाल्चोकको ७७ वर्षीय पुरुष र रुपन्देहीको ६५ वर्षीय पुरुष रहेका छन् ।