१७ पुस ०७४, काठमाडौं । वाम गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोगलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम तत्काल सार्वजनिक गर्न र राष्ट्रिय सभाको निर्वाचनको मिति तोक्न दबाव दिएका छन् ।
सोमबार दिउँसो निर्वाचन आयोगमा पुगेर एमाले र माओवादीका नेताहरुको संयुक्त टोलीले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम तत्काल सार्वजनिक गर्न र राष्ट्रिय सभाको निर्वाचन मिति तोक्न माग गर्दै दबाव दिएका हुन् ।
आयोगमा दबाव दिन एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल तथा माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुनसहितका नेता पुगेका थिए ।
प्रमुख निर्वाचन आयुक्तसहितको निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर वामको टोलीले राष्ट्रपतिले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पनि पारित गरिसकेको अवस्थामा निर्वाचन मिति तोक्न ढिलाइ नगर्न आग्रह गरिएको एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिए ।
भेटपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष रावलले जनताले दिएको म्यान्डेटलाई आयोगले बेवास्ता गरेको आरोप लगाए । ‘सरकारले राष्ट्रिय सभा गठनलगायतमा बखेडा झिकेर लोकतन्त्रमा जनताले दिएको म्यान्डेटलाई बेवास्ता गर्न खोजिरहेको छ । लामो समयसम्म जनादेशलाई लत्याउन खोजे आउनसक्ने परिणामको भागिदार पनि सरकार स्वयं हुनुपर्छ,’ रावलले भने ।
आयोगले राष्ट्रिय सभा गठनको निर्वाचन मिति पनि नतोक्ने, प्रदेश प्रमुखहरु पनि नतोक्ने तर बखेडा झिकिरहेको आरोप लगाउँदै उनले प्रक्रियागत कुराहरुमा आफूहरु सहयोग गर्न हरदम तयार रहेको बताउँदै सरकार गठन प्रक्रियामा विलम्ब नगर्न आग्रह गरे ।













