९ असोज ०७९, काठमाडौं । सत्ता गठबन्धनमा प्रदेशसभा सिट बाँडफाँटबारे आजबाट छलफल हुने भएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल गरिएको थियो भने हालसम्म भएको सहमतिलाई कायम राख्ने सहमति समेत भएको गठबन्धनले आजदेखि भने प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्ने छन् ।
निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकिसकेको अबस्थामा दलहरुलाई छिटो सिट बाँडफाँट टुंग्याउनुपर्ने तिब्र दबाव छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको गत साउन २० गते बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका थिए भने सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदलसमेत गठन गरिएको थियो ।
कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलको बैठकले लगातार कार्यदलस्तरमा र शीर्ष नेतृत्व तहमा सिट बाँडफाँटबारे छलफल गर्दै आएको भएपनि अहिलेसम्म सहमति जुट्न सकेको छैन ।













