१५ बैशाख ०७७, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सम्पर्कविहीन गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाही पोखरास्थित चरक अस्पतालको आईसीयूमा भेटिएका छन् ।
गण्डकी प्रदेशसभा सदस्य शाहीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर सार्वजनिक गर्ने जनमोर्चाले जानकारी दिएको छ ।
बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुने दिन प्रदेश सदस्य शाही सम्पर्कविहीन भएका थिए भने उनी कास्कीको पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएपछि राष्ट्रिय जनमोर्चाले स्वास्थ्य अवस्थाबारे जानकारी लिएर सार्वजनिक गर्ने जानकारी दिएको हो ।
आफ्ना सांसद सम्पर्कविहीन भएको भन्दै जनमोर्चाले निवेदन दिएपछि शाही कोरोना अस्पतालको आईसीयूमा रहेको सूचना सार्वजनिक भएको थियो ।
जनमोर्चाका अध्यक्ष चित्रबाहदुर केसीले सांसद शाही आईसीयूमा रहेको खबर पाएको बताए ।
प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको भए पनि अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना भएको बताइएको छ ।
अस्पतालका निर्देशक कपिल पोखरेलले शाहीसँगै कांग्रेस प्रदेशसभा सदस्य मनकुमारी गुरुङ पनि बुधबार बिहान अस्पताल भर्ना भएको बताए ।
जनमोर्चाले आफ्ना सांसद सम्पर्कविहीन भएको भन्दै निवेदन दिएपछि संसद् बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले ल्याएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा उभिने उभिने निर्णय गरेको थियो ।
जनमोर्चाबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका शाही नेपाली कांग्रेसका बागी उम्मेदवार तारानाथ पौडेलसँग पराजित भएका थिए तर मंसिर १४ मा भएको उपनिर्वाचनमा तत्कालीन सत्तारुढ नेकपाको समर्थनमा बागलुङ–२ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।