३१ असोज ०८२, काठमाडौं । गत भदौ २३ र २४ को आन्दोलनका क्रममा मृत्यु हुने जेन–जी २२ जना मात्रै रहेको नेपाली सेनाले बताएको छ ।
सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त तथ्यांक प्रस्तुत गर्दै आन्दोलनमा ७६ जनाको ज्यान गएको बताएका हुन् ।
मृत्यु हुने ७६ जना मध्ये २२ जना प्रदर्शनकारी, तीनजना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेको उपरथी थापा जानकारी दिए ।
नेपाली सेनाको अनुसार देशभर ४ सय ८४ स्थानमा आन्दोलन भएको थियो भने विभिन्न कारागारबाट १५ हजार ५ सय ८८ कैदीबन्दी फरार रहेकोमा ८ हजार ७ सय ९९ जना पक्राउ तथा फिर्ता भएका छन् ।
यस्तै सेनाले आन्दोलनमा लुटिएको/हराएको हातहतियार संख्या ९ सय ७८ रहेको र सोमध्ये ५ सय ८६ थान बरामद/बुझाएको बताएको छ ।
यसैगरी सेनाले सरकारी कार्यालय ६ सय ८८, प्रहरी कार्यालय ३ सय ७, निजी निवास २ सय ५९, व्यापारिक प्रतिष्ठान १ सय २८ साथै राजनीतिक दलको पार्टी कार्यालय १ सय ९८ आगजनी, तोडफोड भएको जानकारी दिएको छ । उसले तथ्याङ्कहरू अध्यावधिक भइरहने पनि बताएको छ ।













