गभर्नर बर्खास्तीको माग गर्दै तीन विद्यार्थी संगठनद्वारा विज्ञप्ति जारी

४ साउन ०७९, काठमाडौं । तीन विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गरेको छ ।

सत्तारुढ दल निकटका तीन विद्यार्थी संगठनले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै संघर्षका थप कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “हामी विद्यार्थी संगठनहरु पहिलो दिनदेखि नै दलिय सदस्य अवैध गभर्नरको राजीनामा माग गर्दै आन्दोलनमा छौँ ।”

“महाप्रसाद अधिकारी उर्फ एम. अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी राज्यको धज्जी उडाएका छन्,” विज्ञप्तिमा उल्लेख छ, “त्यसकारण नेपाल सरकार समक्ष अवैध गभर्नर वर्खास्तीको जोडदार माग गर्दै संयुक्त विद्यार्थी संगठन निम्न संघर्षका कार्यक्रमको घोषणा गर्दछौं ।”

संयुक्त संघर्षका कार्यक्रम:

१. श्रावन ३ गते अवैध गभर्नर बर्खास्तीको माग गर्दै सम्माननीय प्रधानमन्त्री ज्यु र प्रतिनिधि सभाका सम्माननीय सभामुख ज्यू लाई ज्ञापनपत्र बुझाउने ।

२. श्रावण ४ गते नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालयमा सहित देशैभरीका कार्यालयहरुमा कालो ब्यानर राख्ने ।

३. श्रावण ५ गते प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्सन तथा अन्तरक्रिया कार्यक्रम गर्ने ।

४. श्रावण ६ गते देशैभरी क्याम्पसहरुमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने ।

५. श्रावण ७ गते संघीय संसद सदस्यहरुलाई अवैध गभर्नर बर्खास्तीको माग गर्ने आवाज संसदमा उठाउन अनुरोध गर्दै प्रदर्शनी मार्ग अगाडि सडकबाट सन्देश पठाउने ।